+
Search

ताजा अपडेट +

पपुलर +

छत्रेश्वरीमा मेलमिलापकर्ताहरू लाई आठ दिने तालिम सम्पन्न

छत्रेश्वरीमा मेलमिलापकर्ताहरू लाई आठ दिने तालिम सम्पन्न
कर्णाली खोज
२० घण्टा अगाडी

शंकर केसी

सल्यान, ११ बैशाख । “विवादको साटो, मेलमिलापको बाटो” भन्ने मूल नारासहित संचालन गरिएको मेलमिलाप सम्बन्धी आधारभूत तालिम सल्यानको छत्रेश्वरी गाउँपालिकामा सम्पन्न भएको छ । छत्रेश्वरी गाउँपालिकाको आर्थिक सहयोगमा संवाद सहजिकरण तथा मेलमिलापका लागि शेयर सेन्टर, सुर्खेतको संयोजनमा वैशाख ४ गतेदेखि सुरु भएको तालिम विहिबार औपचारिक रूपमा समापन गरिएको हो ।

८ दिनसम्म सञ्चालन भएको तालिममा छत्रेश्वरी गाउँपालिकाका ७ वटै वडाबाट आएका मेलमिलापकर्ताहरू, न्यायिक समितिका सदस्यहरू तथा न्यायिक शाखाका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।

तालिम समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले मेलमिलापकर्ताहरूको भूमिका समुदायमा शान्ति र सद्भाव कायम गर्न अत्यन्तै महत्वपूर्ण हुने बताए । उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारिक जीवनमा प्रयोग गरेर सहभागीहरूले समुदायमा सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

प्रशिक्षणमा मेलमिलापको सैद्धान्तिक पक्षसँगै व्यवहारिक पक्षहरू  संवाद कला, निष्पक्ष भूमिका निर्वाह, कानुनी प्रक्रिया, सानातिना विवादहरूको मैत्रीपूर्ण समाधान आदिबारे गहिरो जानकारी दिइएको थियो । तालिममा अर्जुन प्रसाद घिमिरे र सन्तोष प्रसाद खनालले प्रशिक्षण प्रदान गरेका थिए ।

समापन समारोहमा सहभागी मेलमिलापकर्ताहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । गाउँसभा सदस्य खड्गनाथ योगीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीतर्फबाट बिरेन्द्र नेपाली र सरिता खड्काले बोल्दै समुदायमा उत्पन्न विवादहरूको सहजीकरण र मेलमिलापमार्फत समाधान गर्न आफूहरू सक्षम र उत्साहित भएको धारणा व्यक्त गरे । साथै मेलमिलाप केन्द्र सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार व्यवस्थापनमा गाउँपालिकाको सहयोगको अपेक्षा समेत राखेका थिए । कार्यक्रमको संचालन खडग शाहीले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

कर्णाली खोज