भुम प्रकाश भण्डारी

सल्यान ०४, चैत । सल्यानको त्रिवेणी गाउँपालिकाले जेष्ठ नागरिकहरूलाई सम्मान तथा अभिनन्दन गरेको छ । सोमबार एक कार्यक्रम आयोजना गरि गाउँपालिकाले पालिका भित्रका जेष्ठ नागरिकहरूलाई सम्मान तथा अभिनन्दन गरेको हो ।

गाउँपालिकाको चालू आर्थिक बर्षको ‘जेष्ठ नागरिक सँग त्रिवेणी गाउँपालिका: जेष्ठ नागरिक संरक्षण तथा प्रवर्द्धन कार्यक्रम’ अन्तरगत सम्मान र अभिनन्दन गरिएको गाउँपालिकाले जनाएको छ।

कार्यक्रममा गाउँपालिकाले जेष्ठ नागरिक परिचय पत्र वितरण सहित निशुल्क स्वास्थ्य परिक्षण र सम्मान तथा अभिनन्दन गरेको हो । जेष्ठ नागरिकहरूको ज्ञान, सीप, अनुभव र संस्कृति आदानप्रदान गर्न र उनिहरूको सम्मान र आत्मबल बढाउन कार्यक्रम तय गरिएको गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले बताए ।
त्रिवेणी गाउँपालिकामा ९ सय ३८ जना जेष्ठ नागरिक रहेका छन ।
जेष्ठ नागरिक सम्मान कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कडेल, भौतिक पूर्वाधार मन्त्री शेर बहादुर बुढा, उद्योग वन तथा वातावरण मन्त्री सुरेश अधिकारी, पूर्व कृषिमन्त्री भिम प्रकाश शर्मा, प्रदेश सभा सदस्य लक्ष्मी सुनार, जिल्ला समन्वय प्रमुख बेलाराम रावल, गाउँपालिकाका निवर्तमान अध्यक्ष मान बहादुर डाँगी, कपुरकोट गाउँपालिकाका निवर्तमान अध्यक्ष भिम बहादुर सेन लगायत जिल्लाका विभिन्न कार्यलय प्रमुख र सुरक्षा निकायका प्रमुखहरूको सहभागीता रहेको थियो ।
प्रतिक्रिया