सल्यान ९, वैशाख । सल्यानको बागचौर नगरपालिकालाई मानसिक स्वास्थ्य नमुना पालिका बनाउने नेपाल सरकारको कार्यक्रम अनुरुप आज मानसिक स्वास्थ्य नमुना पालिका बारेमा सरोकावारवालाहरुलाई अभिमुखीकरण गरिएको छ ।

बागचौर नगरपालिका नगर उप-प्रमुख सुम्निमा डि.सी वलीको अध्यक्षतामा अभिमुखीकरण सुरु गरिएको हो । उक्त कार्यक्रममा बोल्दै नगर उप-प्रमुख डि.सीले नगरपालिकामा जटिल समस्याको रुपमा रहेको आत्महत्याका घटनाकाे न्यूनीकरण चिन्ताकाे बिषय बनेकाे बताउनुभयो ।

उहाँका अनुसार नगरपालिकाले साझेदार निकाय सी.एम.सी. नेपाल र सामी कार्यक्रम मार्फत यस बिषयमा विभिन्न कार्यक्रम संचालन गरेपछि आत्महत्या घटना घट्दो क्रममा रहेको छ । उहाँले भन्नुभयो- “हामी मानसिक स्वास्थ प्रति गम्भीर छौँ । अहिले समुदाय स्तरमा बेरोजगारी, गरीबी, वैदेशिक रोजगारी, आर्थिक अभाव, बाल विवाह, प्रेम सम्बन्ध, ऋण लगायतका कारणले मानसिक स्वास्थ्य समस्या छ । यसका लागि हामी भुमिका निर्वाह गर्न तयार छौँ ।”

त्यस्तै उक्त कार्यक्रममा विश्व स्वास्थ्य संगठन डा. केदार मरहट्टाले पछिल्लो समय नेपालमा मानसिक स्वास्थ्य बढ्दो क्रममा रहेकाले यसमा लगानी बढाउनु पर्ने कुरामा जोड दिएका थिए । डा. मरहट्टाले नेपालमा आत्महत्याबाट प्रत्येक दिन करिव २० जनाले ज्यान गुमाईरहेको जानकारी दिँदै यसबारेमा तीनै तहको सरकारले प्राथमिकता राखी लगानी बढाउनु पर्ने धारणा राख्नु भएको थियो ।
त्यस्तै, बागचौर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनय डि.सीले सी.एम.सी. नेपाल सँगको सहकार्यमा मानसिक स्वास्थ्य कार्यक्रम गरीरहेको जानकारी दिदै पछिल्लो समय उपचार सेवा लिने सेवाग्राहीहरुको सङख्या बृद्धि भईरहेको बताउनुभयो । उहाँले बजेट अभावका कारण मानसिक स्वास्थ्यको कार्यक्रम व्यापक रुपमा अगाडि बढाउन नसकिएको समेत जानकारी दिनुभयो ।
त्यस्तै, सी.एम.सी.-नेपालका कार्यक्रम अधिकृत अनत चौधरीले प्रवर्द्धन परियोजना मार्फत बिभिन्न क्रियाकलाप गरी आत्महत्या न्युनीकरणका लागि महत्चपूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । उहाँले मानसिक स्वास्थ्य स्वावलम्वन समुह परिचालनबाट जनचेतनामुलक कार्यक्रम अगाडि बढाउनु पर्ने धारणा व्यक्त गर्नुभएकाे थियाे। साथै उहाँले मानसिक स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउनका लागि स्थानीय सरकारले लगानी बढाउनु पर्ने कुरा उल्लेख गर्नुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजना र विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोग एवं बागचौर नगरपालिकाको समन्वयमा कार्यक्रम भईरहेको छ ।
कार्यक्रममा नगरपालिका नगर उप-प्रमुख सुम्निमा डि.सी वली, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर कठायत, विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विषयगत शाखाका शाखा प्रमुखहरु, शिक्षक, स्वास्थ्य संस्थाका प्रतिनिधीहरु, नेपाल प्रहरी, पत्रकार लगायत सराेकारवालाहरुकाे सहभागिता रहेको छ ।
कार्यक्रम विभिन्न चरणमा बैशाख ९ गतेदेखि १३ गतेसम्म सञ्चालन गरिने महाशाखामा कार्यरत मानसिक स्वास्थ्य फोकल पर्सन टेकराज डि.सीले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया