सल्यान ६, जेष्ठ । छत्रेश्वरी गाउँपालिकाको भोटेचौरमा आयोजित एक कार्यक्रममा बहिर्गमन अभिमत सर्वेक्षणको नतिजा सार्वजनिक गरिएको छ। समुदायका नागरिकहरूबाट कृषि, पशुपंक्षी, महिला तथा बालबालिका शाखामार्फत दिइएका सेवाहरूको प्रभावकारिता, समस्या र सुधारका उपायहरूबारे सुझाव लिन गरिएको सर्वेक्षण २०८२ साल वैशाख १४ देखि २६ गतेसम्म सञ्चालन गरिएको थियो।
दलित विकास समाज सल्यान अन्तर्गत सामाजिक तथा आर्थिक न्यायका लागि सञ्चालित कार्यक्रममा वडा नं. ३, ४ र ५ का महिला, दलित तथा पछाडि पारिएका समुदायलाई प्राथमिकतामा राखिएको थियो। सर्वेक्षणमा १८० महिला र १२० पुरुषसहित ३०० जनाको सहभागिता रहेको कार्यक्रम संयोजक गुमानसिंह नेपालीले जानकारी दिनुभयो।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष ओझबहादुर बुढाथोकीले माटो परीक्षण, पशुपंक्षी बीमा तथा नागरिकमुखी सेवा प्रवाहमा कमी देखिएको उल्लेख गर्दै आगामी बजेटमा सुधारका कार्यक्रम समावेश गरिने प्रतिबद्धता जनाउनुभयो। उपाध्यक्ष बुद्धाकुमारी के.सी.ले महिलाको क्षमता अभिवृद्धि, व्यवसायिकता विकास र लैङ्गिक हिंसा न्यूनीकरणमा जोड दिइने बताउनुभयो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गुरुप्रसाद योगी, वडा नं. ५ का अध्यक्ष फौदबहादुर बस्नेत, वडा नं. ४ का अध्यक्ष छबिलाल के.सी., वडा नं. ३ का अध्यक्ष तिर्थराज दाहाल, शाखा प्रमुखहरू, नागरिक समाजका सदस्य तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो।
दलित विकास समाज सल्यानका कार्यकारी निर्देशक विनायक रेग्मीका अनुसार, सेवा प्रवाहको प्रभावकारिता मूल्याङ्कन, समस्या पहिचान, नीति निर्माणमा सहयोग, समावेशी विकासको सुनिश्चितता, सन्तुष्टि मापन, आर्थिक पारदर्शिता र जवाफदेहिताका उद्देश्यले सर्वेक्षण गरिएको हो।
सर्वेक्षण नतिजा नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष शिवलाल डागीले सार्वजनिक गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता नागरिक समाजका अध्यक्ष रेमन्त डागीले गर्नुभएको थियो।
प्रतिक्रिया