फागुन २२, सल्यान । सल्यान जिल्लाको १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नतिजा र मेडल प्रमाणपत्रको बिषयलाई लिएर जिल्लाको दार्मा गाउँपालिका र जिल्ला खेलकुद विकास समिति सल्यान बिच सार्वजनिक रुपमा आरोपप्रत्यारोप भइरहेको छ ।

कुमाख गाउँपालिका सल्यानको नारायण मावि रुमालगाउँमा फागुन १५ गते सुरु भएर २० गते समापन भएको प्रतियोगिता पछि सामाजिक संजालमा सार्वजनिक भएको एउटा पदक तालिकालाई लिएर दुई पक्षबिच सार्वजनिक रुपमै आरोपप्रत्यारोप सुरु भएको हो ।


प्रतियोगिता पछि सार्वजनिक भएको उक्त पदक तालिकामा दार्मा गाउँपालिकाले जितेका विभिन्न पदक अभिलेख केरमेट गरेर, टिपेक्सले मेटेर जम्मा पदक संख्या शून्य बनाएको देखिन्छ । उक्त तस्वीरमा समितिको छाप र अध्यक्षको हस्तान्क्षर पनि देखिन्छ ।
यसरी सार्वजनिक भएको उक्त पदक तालिकाले दार्मा र दर्माली खेलाडीहरुको अपमान भएको दार्मा गाउँपालिकाले आरोप लगाएको छ । सो सम्बन्धमा जिल्ला खेलकुद विकास समितिले आधिकारिक रुपमा माफी माग्नुपर्ने दार्मा गाउँपालिकाले माग गरेको छ ।
यता जिल्ला खेलकुद विकास समिति सल्यानका अध्यक्ष खड्क आचार्यले भने आधिकारीक नतिजा घोषणा नहुदै दार्मा गाउँपालिकाका प्रतिनिधिहरुले समितिको सचिवालय बाट आफुखुसी मेडल र प्रमाणपत्र लिएर हिडेको र आयोजकलाई बदनाम गराउने उनिहरुले नै पदक तालिकामा केरमेट र टिपेक्स लगाएको बताएका छन ।
यद्यपि दार्मा गाउँपालिकाका अधिकारीहरुले खेलकुद विकास समितिका कार्यालय प्रमुख शिवराज अधिकारीको अनुमतिमा मात्रै मेडल र प्रमाणपत्र लिएको दावि गरेका छन भने कार्यालय प्रमुख अधिकारीले उक्त दावि अस्वीकार गरेका छन ।
दार्मा गाउँपालिकाले जिल्ला खेलकुद समितिलाई लगाएको आरोपको बारे माफी नमागे कानुनी उपचार खोज्ने समितिको अध्यक्ष आचार्यले बताएका छन ।
फर्जी खेलाडी विवाद र हिउदे बर्षादको कारण प्रतियोगिता निर्धारित समय भन्दा लम्बिएको थियो । प्रतियोगिता सबै भन्दा बढि पदक सहित शारदा नगरपालिका प्रथम, छत्रेश्वरी गाउँपालिका दोस्रो र कुमाख गाउँपालिका तस्रो स्थान हासिल गरेका छन ।
प्रतिक्रिया