भुम प्रकाश भण्डारी

सल्यान ५, चैत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य यामलाल कडेल सोमबार सल्यानमा आयोजित विभिन्न २ कार्यक्रममा सहभागी भएर प्रदेश राजधानी सुर्खेत फर्किए ।

जिल्लाको त्रिवेणी गाउँपालिकाले आयोजना गरेक जेष्ठ नागरिक सम्मान तथा अभिनन्दन कार्यक्रम र प्रदेश सरकारले निर्माण गरेको काभ्रा रामबजार – शंखपिपल जोड्ने मोटरेवल पुल उद्घाटन गर्न सल्यान पुगेका उनले देशको समसामयिक राजनीति र विकास निर्माण बारे चर्चा गरेका थिए ।

देशमा पछिल्लो समय देखिएको राजावादी आन्दोलनलाई संकेत गर्दै मुख्यमन्त्री कडेलले यो मुलुक राजा र रैतीको शासन बाट मुक्त भएको बताए । “हामीले जनतालाई सार्वभौम मान्य शासन व्यवस्था प्राप्त गरेका छौं । जनप्रतिनिधिको न्यायाधीशको रुपमा जनताले मुल्यांकन गर्नुहुन्छ ।” उनले भने, “दलिय व्यवस्थामा जुन दलले राम्रो काम गर्छ, उसलाई जिताउने व्यवस्था छ । जनताले ५/५ बर्षमा शासक बदल्न सक्छ्न । व्यक्तिले चाहेर शासक बदलिदैन ।”
अहिले व्यवस्था विरुद्ध सामाजिक संजालमा दुइचार जनाले बोलेकै भरमा सबै बिग्रीएजस्तो मनोविज्ञान बनेको बताउदै उनले भनेजस्तो नभएपनी धेरै भएको बताए । “भनेजस्तो भएको छैन, तर धेरै भएको छ। व्यक्ति र संस्थाको कमजोरीले लोकतन्त्र र व्यवस्थाको विकल्प खोज्न सकिँदैन, राजतन्त्र ल्याउन सकिँदैन ।” उनले भने “हिजो बोलेकै आधारमा जेल जानू पर्थ्यो ।”
सत्ता संचालनमा वेवास्ता गर्दा जनता असन्तुष्ट बनेको मुख्यमन्त्री कडेलले बताए । “जनतालाई आन्दोलनम प्रयोग गर्ने तर सत्ता संचालनमा ध्यान नदिने गर्नाले गणतन्त्र ल्याउन ज्यान दिएका जनता अहिले बोलेका छैनन् ।” उनले भने, “६/६ महिनामा सरकार बदलिदा जनतामा निराशा छायो, भौतिक विकासले मात्रै जनताको मन थाम्न सकिँदैन ।”
अघिल्लो सरकारले सुरु गरेका तर विभिन्न कारण अलपत्र परेका आयोजना सम्पन्न गर्न आफू लागेको मुख्यमन्त्री कडेलले बताए । जस्ले सुरु गरेपनि राज्यले लगानी गरेका आयोजना अलपत्र छोड्न नहुने उनको भनाइ थियो ।
विकास निर्माणका काम छलफल गरेर प्राथमिकताका आधार गर्ने उनले बताए । जनता देखेपछि जे पनि हुन्छ भन्ने तर पछि काम नगर्ने प्रवृत्तिले जनता निराश हुने भएकाले त्यसो गर्न नहुने उनले बताए ।
भौतिक पूर्वाधार मात्रै नभएर मानसिक र सामाजिक सुधार पनि विकास मान्नुपर्ने उनले जोड दिए ।
प्रतिक्रिया