भुम प्रकाश भण्डारी

सल्यान, ०२ चैत । त्रिभुवन विश्वविद्यालय अन्तर्गत सल्यानका ३ क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचन निर्विरोध सम्पन्न भएको छ। विद्यार्थी संगठनहरूबीच सहमति भएपछि मतदान प्रक्रियाबिनै नयाँ स्ववियु नेतृत्व चयन भएको हो।

हालसम्म जिल्लाका कपुरकोट बहुमुखी क्याम्पस कपुरकोट, शारदा क्याम्पस शंखमुल र बनगाड क्याम्पस देवस्थलमा निर्विरोध स्ववियु पदाधिकारीहरू निर्वाचित भएका हुन ।

कपुरकोट बहुमुखी क्याम्पसमा नेबिसंघका झलक ओलीको नेतृत्वमा निर्विरोध रुपमा कार्यसमिति चयन भएको छ भने शारदा क्याम्पस शंखमुलमा अनेरास्ववियुका विश्व खड्काको नेतृत्वमा स्ववियु कार्यसमिति चयन भएको छ ।
त्यसैगरि जिल्लाको बनगाड क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीका जिबन बिष्टको नेतृत्वमा स्ववियु कार्यसमिति निर्वाचित भएको हो ।
चार वटा क्याम्पसमा निर्वाचन हुने
जिल्लाका अन्य ४ क्याम्पसहरूमा भने निर्वाचन प्रक्रिया मार्फत नै स्ववियु चयन हुने भएको छ । जिल्लाको सल्यान बहुमुखी क्याम्पस खलंगा, शिवजन क्याम्पस श्रीनगर, जनकल्याण क्याम्पस थारमारे र फारुला बहुमुखी क्याम्पस फारुलाचौरमा निर्वाचन हुने भएको हो।
स्ववियु निर्वाचनको लागि सत्ता गठबन्धनका विद्यार्थी संगठनहरू नेबिसंघ र अनेरास्ववियुले तालमेल गरेकाछन भने प्रतिपक्षी गठबन्धनका विद्यार्थी संगठनहरू अनेरास्ववियु क्रान्तिकारी र नेकपा एस निकट अनेरास्ववियुले पनि तालमेलमा गरेका छन ।
सल्यान बहुमुखी क्याम्पस खलंगा लुहापिङ्गमा कांग्रेस र एमालेकाे गठबन्धनबाट अनेरास्ववियुका विशाल पुन, माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीबाट सितल कुँवर र विप्लव निकट अखिल (समाजवादी)बाट राजेन्द्र खड्काको सभापतिमा उम्मेदवारी रहेकाे छ।
यस्तै जनकल्याण कयाम्पस थारमारेमा एमाले कांग्रेसकाे गठबन्धनबाट नेविसंघका फलेन्द्र पुरी र माओवादी र एकीकृत समाजवादीकाे गठबन्धनबाट अनेरास्ववियु क्रान्तिकारीका गणेश वलीको प्यानल प्रतिस्पर्धामा छ भने शिवजन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको गठबन्धनबाट सुरज हमाल र अनेरास्ववियु क्रान्तीकारीका रोसन खड्कीकाे प्यानल चुनावी मैदानमा उत्रिएका छन ।
त्यस्तै दार्मा गाउँपालिकामा रहेकाे फारुला बहुमुखी क्याम्पसमा माओवादी केन्द्रको अनेरास्ववियु क्रान्तिकारीकी हीमा शर्मा विप्लव निकट अखिल समाजवादीबाट निशान देवकोटाले प्रतिस्पर्धा गर्दैछन् त्यहाँ विप्लव निकटका उम्मेदवारलाइ कांग्रेस र एमाले निकटका विद्यार्थी संगठनले सघाइरहेका छन् ।
३ ठुला विद्यार्थी संगठनहरू नेविसंघ, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले २/२ वटा र विप्लव नेकपा निकट (अखिल समाजवादी) ले एउटा क्याम्पसको नेतृत्व लिई सहमतिमा स्ववियु सम्पन्न गराउन प्रयास गरिएपनि नेकपा माओवादी केन्द्रले नमानेपछि निर्वाचन प्रक्रियामा जानुपरेको नेकपा एमाले सल्यानका उपाध्यक्ष तथा जनसंगठन संयन्त्रका प्रमुख ओज बहादुर बुढाथोकीले बताए ।
स्ववियु निर्वाचनमा चैत ५ गते मतदान हुदैछ ।
प्रतिक्रिया