भुम प्रकाश भण्डारी

सल्यान १०, चैत । सल्यानका छ वटा स्थानिय तहमा “सूचना अधिकारी” तोक्दा ऐन र नियामावली उलंघन भएको पाईएको छ । स्थानीय तहहरूले सूचनाको हक सम्बन्धि ऐन २०६४ र सूचनाको हक सम्बन्धी नियामावली २०६५ उलंघन हुनेगरी सूचना अधिकारीहरु तोकेको पाईएको हो ।

राज्यका काम कारवाही लोकतान्त्रीक पद्धति अनुरुप खुला र पारदर्शी बनाई सुशासन कायम गर्न, राज्यलाई नागरिकप्रति जवाफदेही र जिम्मेवार बनाउन, सार्वजनिक महत्वका सूचनामा आम नागरिकको पहुँच सरल र सहज बनाइ नागरिकको सुसूचित हुने हकलाई संरक्षण गर्न सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ६ को उपदफा १ अनुसार सार्वजनिक निकायले सूचना अधिकारी तोक्नुपर्ने र उपदफा २ अनुसार कार्यालय प्रमुखले सूचना अधिकारीलाई कार्यालयका सूचनाहरु नियमितरुपमा उपलब्ध गराउनुपर्ने तथा सूचनाको हक सम्बन्धी नियामावली २०६५ को नियम २४ ‘क’ अनुसार सार्वजनिक निकायमा कार्यरत प्रसाशकिय प्रमुखले आफु भन्दा दास्रो वा तेस्रो मुनीको कर्मचारीलाई सूचना अधिकारी तोक्नुपर्ने स्पष्ट प्रावधान भएपनी सल्यानका छ वटा स्थानिय तहमा त्यसको उलंघन भएको पाईएको हो ।

जिल्लाका १० मध्ये ६ वटा स्थानिय तहमा प्रमुख प्रसाशकिय अधिकृत भन्दा दास्रो वा तेस्रोे मुनीको वरियताका कर्मचारीलाई नभई अन्यलाई सूचना अधिकारी तोकेको पाईएको छ । जिल्लाको बागचौर नगरपालिका, दार्मा गाउँपालिका, सिद्धकुमाख गाउँपालिका, बनगाड कुपिण्डे नगरपालिका, कालिमाटी गाउँपालिका र छत्रेश्वरी गाउँपालिकाले सूचना प्रबिधि अधिकृतलाई सूचना अधिकारी तोकेका छन ।
‘सूचना अधिकारी र सूचना प्रविधि अधिकृत’ सुन्दा उस्तै लागे पनी कामको प्रकृती र जिम्मेवारीको हिसावले धेरै फरक भएको कुपरकोट गाउँपालिका सल्यानका सूचना अधिकारी मोहन खड्काले बताए । “सुचना प्रविधि अधिकृत सो सम्बन्धी प्राविधिक व्यक्ती हो ।” उनले भने, “तर सूचना अधिकारी कार्यालयका सार्वजनिक महत्वका सूचनामा जवाफदेही पद हो ।”
कार्यालय प्रमुख सँगको निकटता, निर्णय प्रक्रियामा सहभागिता, सूचनामा पहुँच, जवाफदेहिता र चेन अफ कमाण्डको हिसावले कार्यालय प्रमुख मुनी दोस्रा वा तेस्रो वरियताको अधिकारीलाई नै सूचना अधिकारी तोक्ने कानुनी व्यवस्था भएको जिल्ला हुलाक कार्यालय सल्यानका हुलाक अधिकृत चिन्तामणी रेग्मीले बताए ।
“कार्यालयमा चेन अफ कमाण्डको कुरा पनी हुन्छ । कार्यालय प्रमुख पछि दोस्रो वा तस्रो वरियताको सिनियर व्यक्ती सूचना अधिकारी हुदा अन्य शाखा र कर्मचारी सँग सम्बन्धीत सूचना माग्न पनी सहज हुन्छ ।” उनले भने, “अन्यथा जुनियर कर्मचारीले सूचना माग्दा सिनियर कर्मचारीले नटेर्न, वास्ता नगर्ने जस्ता समस्या पनी आउन सक्छ ।”
सूचना अधिकारी सिनियर अधिकारी नहुदा सूचना प्राप्त गर्न कठिनाई भएको सल्यानमा क्रियाशिल पत्रकार खकेन्द्र केसीले बताए । “हामी सूचनाको हक प्रयोग गरेर सार्वजनिक महत्वको सूचना माग गरेर पत्र पठाउछौं तर सूचना अधिकारीहरुले कार्यालयमा समन्वय गरेर सूचना दिनुको सट्टा सम्बन्धी शाखामा पत्र पठाईदिएका छाै भन्नुहुन्छ ।” उनले भने, “त्यसपछि त्यो पत्र कहाँ जान्छ, केही पत्तो हुदैन । मागेको सूचना पनी पाईदैन ।”
स्थानिय तहहरुले नियमावलीले भने अनुसारको अधिकारीलाई सूचना अधिकारी नतोकेर सार्वजनिक महत्वको सूचना प्रवाह गर्ने र पारदर्शी हुने कुरालाई महत्व नदिएको नेपाल पत्रकार महासंघ सल्यान अध्यक्ष डिल्लीराज रावतले बताए । उनले भने, “सूचना अधिकारीहरुलाई मेल चेक गर्ने, सामाजिक संजालमा पोस्ट गर्ने लगायत सामान्य सोधपुछ र जानकारी आदानप्रदान गर्ने काममा मात्र सिमित गरिएको छ ।”
यद्यपी जिल्लाका कुपरकोट गाउँपालिका र कुमाख गाउँपालिकामा कार्यालय प्रमुख भन्दा मुनी दोस्रो वरियताका अधिकारीलाई नै सूचना अधिकारीको जिम्मेवारी प्रदान गरेका छन । सार्वजनिक महत्वका कतिपय सूचना संवेदनसिल पनि हुने भएकाले दोस्रो वरियताका अधिकारीलाई सूचना अधिकारी तोकिएको कपुरकोट गाउँपालिका सल्यानका प्रमुख प्रशासकिय अधिकृत दिनेश पौडेलले बताए ।
जिल्लाको त्रिवेणी गाउँपालिकाले तस्रो वरियताका अधिकारीलाई सूचना अधिकारी तोकेको प्रमुख प्रशासकिय अधिकृत खुमबहादुर केसीले बताए । त्यस्तै शारदा नगरपालिकाले पनी सूचना अधिकारी तोक्ने समयमा तेस्रो वरियताका कर्मचारीलाई नै सूचना अधिकारी तोकेका तर अहिले लोकसेवाबाट दोस्रो वरियताका कर्मचारी आएकोले साउन पछि वरियता अनुसार नयाँ सूचना अधिकारी तोक्ने प्रमुख प्रसाशकिय अधिकृत ओम प्रकाश देवकोटाले बताए ।
सूचना प्रविधि अधिकृतलाई नै सूचना अधिकारी तोकेका स्थानिय तहका प्रमुख प्रशासकिय अधिकृतहरुले भने पहिले देखी नै सूचना प्रविधि अधिकृतहरु सूचना अधिकारी तोकिएकोले निरन्तरता दिईएको बताए । “म आउनु भन्दा पहिले देखी नै सूचना प्रविधि अधिकृत सूचना अधिकारीको रुपमा कार्यरत हुनुहुथ्यो” सिद्ध कुमाख गाउँपालिका सल्यानका प्रमुख प्रशासकिय अधिकृत डिल्ली खड्काले भने, “कर्मचारी अभाव भएकाले मैले पनी परिवर्त गरिन ।”
“पहिले कर्मचारी अभाव भएर सूचना प्रविधि अधिकृतलाई सूचना अधिकारी तोकिए पनी अब नियामावली अनुसार तोक्ने” दार्मा गाउँपालिका सल्यानका प्रमुख प्रसाशकिय अधिकृत रेशम ओलीले बताए ।
छत्रेश्वरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुरु प्रसाद योगी र कालिमाटी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हर्क बहादुर ओलीले सूचना सम्बन्धी सबै जानकारी हुने भएकाले सूचना प्रविधि अधिकृतलाई नै सूचना अधिकारी तोकिएको बताए ।
त्यस्तै पहिले देखी नै सूचना प्रविधि अधिकृतलाई सूचना अधिकारी तोकिएकोले आफुले पनी निरन्तरता दिईरहेको बागचौर नगरपालिका सल्यानका निमित्त प्रमुख प्रसाशकिय अधिकृत हरी बहादुर कठायतको भनाइ छ ।
प्रतिक्रिया